चितवन, साउन २४ –
वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौथो वर्र्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए ।
पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको थियो ।
उक्त माग पूरा गर्न क्याम्पस प्रशासनले अझै अटेर गरेपछि बिहानीपखमा पढ्ने अधिकांश विद्यार्थी र कक्षाहरुले तालाबन्दीको समर्थन गरेका छन् । अधिकांश कक्षाले पुस्तकालयमा विज्ञप्ति टाँस्दै बिबिएस चौंथो वर्षले सुरु गरेको तालाबन्दीमा समर्थन जनाएका छन् ।
यसैगरी नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विद्यार्थीहरुको मागलाई पूरा गरी तालाबन्दी खुलाउने वातावरण बनाउन क्याम्पस प्रशासन समक्ष आग्रह गरेको छ । नेविसंघले आज एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
अध्यक्ष कुमार जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि क्याम्पसको पुस्तकालयमा विभिन्न संकायका विद्यार्थीहरुले पुस्तकालय बिहानी समयमा पनि खोल्नुपर्ने माग राखी गरेको तालाबन्दीले विद्यार्थीको पठनपाठनमा गम्भीर असर पारेको हुँदा तत्काल पुस्तकालय बिहान ६ बजेदेखि खोल्ने व्यवस्था मिलाई सहज वातावर मिलाउन क्याम्पस प्रशासनलाई आग्रह गर्दछौं । यदि हाम्रो मागलाई संवोधन नगरिएमा त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुनेछ ।’
स्वस्फूर्तरुपमा कक्षाकक्षाबाट उठाइएको विद्यार्थीको यो आवाजलाई विभिन्न विद्यार्थी संगठनहरुले पनि नजिकबाट नियालिरहेको बताएका छन् । यद्यपि अन्य कुनै संगठनले विद्यार्थीको मागलाई खुलेर समर्थन गरेका छैनन् ।
क्याम्पस प्रशासनले भने कर्मचारीको अभावका कारण बिहान पुस्तकालय खोल्न नसिकएको जनाएको छ । विद्यार्थीहरुको माग जाहेज रहेको स्वीकार गर्दे प्रशासनले माग पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिक्रिया दिएको छ ।