चितवन, साउन २४ –
वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए ।
पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको थियो । उक्त माग पूरा गर्न क्याम्पस प्रशासनले अझै अटेर गरेपछि बिहानीपखमा पढ्ने अधिकांश विद्यार्थी र कक्षाहरुले तालाबन्दीको समर्थन गरेका छन् । अधिकांश कक्षाले पुस्तकालयमा विज्ञप्ति टाँस्दै बिबिएस चौंथो वर्षले सुरु गरेको तालाबन्दीमा समर्थन जनाएका छन् ।
बिबिएस प्रथम वर्ष (एउटा), बिबिएस प्रथम वर्ष (अर्काे), बिएससि प्रथम वर्ष र बिएससि दोश्रो वर्षले विज्ञप्ति नै निकालेर पुस्तकालय बिहान पनि खुल्नुपर्ने माग राख्दै तालाबन्दीको समर्थन गरेका छन् । बिबिएस प्रथम वर्षले पुस्तकालयमा अर्काे ताला थपेर सशक्तरुपमा अघि बढेको बिबिएस चौंथो वर्षका एक विद्यार्थीले बताए ।
बबिएस, बिएड, विज्ञान संकायका केही सेमेष्टर लगायतका विविधि संकायहरु बिहानमा पढाइ हुने गर्छन् । तर पुस्तकालय १० बजेदेखि खोल्दा बिहानमा पढाइ हुने संकायका विद्यार्थीहरु मर्कामा पर्ने गरेका विद्यार्थीहरुको गुनासो छ ।
यसअघि विद्यार्थीहरु स्वस्फूर्तरुपमा जम्मा भई प्रशासनमा उपस्थित भएर निवेदन दिन खोज्दा प्रशासनले निवेदन पनि लिन नमानेपछि आफूहरु बाध्य भएर तालाबन्दी गर्ने अवस्थामा पुगेको बिबिएस चौंथो वर्षका विद्यार्थीहरुको भनाइ छ ।
आफूहरुको माग १५ दिनभित्र संवोधन गर्ने गरी विद्यार्थीहरु समक्ष प्रशासनले प्रतिवद्धता जाहेर नगरेसम्म ताला नखोलिने विज्ञप्तिमा जनाइएको छ । यदि क्याम्पस प्रशासनले विद्यार्थीको मागलाई वेवास्ता गरे क्याम्पसको प्रशासनमा समेत तालाबन्दी र आवश्यक परे पठनपाठन नै ठप्प गराउनेसम्मको चेतावनी विद्यार्थीहरुको समुहले दिएको छ ।
स्वस्फूर्तरुपमा कक्षाकक्षाबाट उठाइएको विद्यार्थीको यो आवाजलाई विभिन्न विद्यार्थी संगठनहरुले पनि नजिकबाट नियालिरहेको बताएका छन् । पुस्तकालय बिहान पनि खुल्नुपर्छ भन्ने कुरामा अधिकांश विद्यार्थी संगठन पनि सकरात्मक रहेको कुरा आफूहरुलाई बताएको बिबिएस चौंथो वर्षका विद्यार्थीहरले जनाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) वीरेन्द्र बहुमुखी क्याम्पस समितिले विज्ञप्ति नै निकालेर विद्यार्थीहरुको मागको समर्थन गरेको छ ।
वीरेन्द्र क्याम्पसमा अधिकांश कक्षाहरु बिहानमै सञ्चालन हुने गर्छन् । तर पुस्तकालय बिहान खोल्न नसक्नु क्याम्पस प्रशासनको कमजोरी भएको विद्यार्थीहरुले बताएका छन् ।
क्याम्पस प्रशासनले भने कर्मचारीको अभावका कारण बिहान पुस्तकालय खोल्न नसिकएको जनाएको छ । विद्यार्थीहरुको माग जाहेज रहेको स्वीकार गर्दे प्रशासनले माग पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिक्रिया दिएको छ ।
हेरौं विज्ञप्ति :