वीरेन्द्र क्याम्पसमा बिहान पढ्ने अधिकांश विद्यार्थीहरुले गरे पुस्तकालयमा तालाबन्दीको समर्थन

चितवन, साउन २४ –
वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए ।
पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको थियो । उक्त माग पूरा गर्न क्याम्पस प्रशासनले अझै अटेर गरेपछि बिहानीपखमा पढ्ने अधिकांश विद्यार्थी र कक्षाहरुले तालाबन्दीको समर्थन गरेका छन् । अधिकांश कक्षाले पुस्तकालयमा विज्ञप्ति टाँस्दै बिबिएस चौंथो वर्षले सुरु गरेको तालाबन्दीमा समर्थन जनाएका छन् ।

बिबिएस प्रथम वर्ष (एउटा), बिबिएस प्रथम वर्ष (अर्काे), बिएससि प्रथम वर्ष र बिएससि दोश्रो वर्षले विज्ञप्ति नै निकालेर पुस्तकालय बिहान पनि खुल्नुपर्ने माग राख्दै तालाबन्दीको समर्थन गरेका छन् । बिबिएस प्रथम वर्षले पुस्तकालयमा अर्काे ताला थपेर सशक्तरुपमा अघि बढेको बिबिएस चौंथो वर्षका एक विद्यार्थीले बताए ।