नयाँ दिल्ली, कात्तिक १३-
भारतको उत्तर प्रदेश राज्यको गाजियावादमा मंगलबार जिल्ला अदालतको इजलासमै प्रहरीले कानुन व्यवसायीमाथि कुटपिट गरेको छ ।
बार एसोसिएसनका एक पदाधिकारी जोडिएको मुद्दामा सुनुवाइका क्रममा कानुन व्यवसायीले न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए । न्यायाधीशले प्रहरीलाई बोलाएपछि इजलासभित्रै ठुलो सङ्ख्यामा आएका प्रहरीले कानुन व्यवसायीमाथि लाठीचार्ज गरेको बताइएको छ ।
प्रहरीको कुटाइबाट केही कानुन व्यवसायी घाइते भएका छन् । इजलासको सबै ढोका बन्द गरेर आफूहरूमाथि प्रहरीले लाठी प्रहार गरेको कानुन व्यवसायीको भनाइ छ ।
घटनापछि कानुन व्यवसायीहरू अदालत बाहिर धर्नामा बसेर न्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् । न्यायाधीशले भने दुर्व्यवहारविरुद्ध कामकाज बन्द गरेको बताइएको छ ।










