जाजरकोट, भदौ २३-
जाजरकोटमा पहिरोले पुरिदाँ दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान २ः५० बजे जाजरकोटको बारेकोट गाउँपालिका(६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिदाँ चलाउने र उनकी श्रीमतीको मृत्यु भएको हो ।
पहिरो गएको सूचनापछि पुगेको प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेको जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार प्रेमकुमारी वडासदस्य हुन्।
चार जना सुतिरहेको घर पहिरोगएपनि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन्।
यस्तै मानबहादुर र प्रेमकुमारीकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।







