काठमाडौं, भदौ १५-
काठमाडौंको कलंकीमा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर छन्। एसपी अधिकारीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि कलंकीकै नेशनल अस्पताल लगिएकोमा बिहान साढे १० बजे उनको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको ठक्करपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको जस्तो देखिने एसपी अधिकारीले जानकरी दिए। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार रहेको उनले बताए।
प्रमाणीत भइनसकेका कारण प्रहरीले ठक्कर दिएको भनिएको मोटरसाइकल र बसको नम्बर सार्वजनिक गरेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिए।







