म्याग्दी, भदौ १२
धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो ।
थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले मङ्गलबार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताए । ‘मङ्गलबार साँझ ५:४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो,’ उनले भने, ‘सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ ।’







