विराटनगर, भदौ ४
विराटनगरको बाल सुधारगृहमा राखिएका दुई बालक भागेका छन् । सुनसरी घर भएका १६ वर्षका दुई बालक मंगलवार दिउँसो सुधारगृहको पर्खाल नाघेर भागेका हुन् ।
जिल्ला अदालत मोरङको आदेशअनुसार दोषी ठहर भएपछि उनीहरू भागेको मोरङ प्रहरीले जनाएको छ ।
भागेकामध्ये एक कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक रहेको बताइएको छ ।
सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवैजना दिउँसो ३ बजेतिर भागेका हुन् । ‘बिहान ११ बजेदेखि अतिरिक्त कार्यक्रम चलेको थियो,’ चौहानले भने ‘दिउँसो ३ बजेतिर दुई जना नदेखेपछि खोजी गर्दा फरार भएको थाहा पायौं । सिसी क्यामराबाट हेर्दा उनीहरू विराटनगरको राजबंशी चौकतिर गएको देखेका छौँ ।’
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फरार भएका बालकहरूको खोजी भइरहेको जानकारी दिए । विराटनगरस्थित बाल सुधारगृहको क्षमता ५० जनाको रहेपनि २३८ जनालाई राखिएको छ ।







