काठमाडौ,भदौ २-
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, सोमबार साँझ साढे ७ बजे उनीहरूबीच भेटवार्ता हुने तय भएको हो।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयका एक सदस्यले नारायणी अनलाइनलाइ जानकारी दिए। मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्नेछिन्।
भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग मन्त्री राणाको सोमबार नै भेटवार्ता हुने बताइएको छ। परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा आइतबार (भदौ २ गते) नयाँदिल्ली प्रस्थान गरेकी हुन्। भदौ ६ गते उनी स्वदेश फर्किने कार्यक्रम छ।