काठमाडौँ, १५ साउन :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जाने बताउनुभएको हो ।
सङ्गठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रुपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष दाहालले बताउनुभएको प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो ।
सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरुको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताउनुभयो ।
आगामी निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि दलसँग गठनबन्धन नगरी निर्वाचनमा सहभागी हुने बताएको छ । कम्युनिष्ट र बृहत् वामपन्थी एकताको लक्ष्यलाई नछाड्ने ठहर गर्दै सो पार्टीले जनताको भावना र चाहनाअनुसार पार्टीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।