काठमाडौं जेठ ८
सहकारी अपचलनका विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।
बैठक आज बिहान बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने सभामुख देवराज घिमिरेकाे सचिवालयले जनाएकाे छ ।
बैठकले संसदीय समितिको टीओआर तयार पार्नेछ ।
सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । तर समिति कस्तो बन्ने, जिम्मेवारी के के हुने जस्ता विषयमा सहमति भइसकेको छैन ।
कांग्रेससहितका विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै कार्यादेश बनाउनुपर्ने माग गरेका छन् । तर सत्तापक्ष नाम नराखी समिति बनाउने अडानमा रहेका कारण सहमति जुट्न सकेको छैन ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद शिशिर खनाल छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।