काठमाडाैं बैशाख ३१,
सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको प्रधानमन्त्रीको सिचवालयले जनाएको छ ।
संवादमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे।
प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद शुरू गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए । उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिएका थिए ।
सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सनलायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराएका थिए ।