काठमाडौं, वैशाख ३ –
हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।
नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।
ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे ।
त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१-२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो ।
हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए ।
नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।
नेपाल लगातार तेस्रो जितको खोजीमा छ । आजको खेल जिते सेमिफाइनल पुग्ने नेपाल समूह विजेता पनि बन्ने सम्भावना बलियो हुनेछ ।