काठमाडाैं माघ २१
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु गर्न लागेको छ । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै रास्वपाले उक्त अभियान गर्न लागेको हो ।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।