काठमाडाैं माघ १७,
दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।
यसअघिको खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ । बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जीत हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।
यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो ।
नेपालले सन् २००२ मा भएको यू-१९ विश्वकप प्लेट च्याम्पियनशिपमा सेमिफाइलनमा बंगलादेशलाई २३ रनले पराजित गर्दै फाइलनको यात्रा तय गरेको थियो । उक्त च्याम्पियनशिपमा नेपाल फाइनलमा जिम्बावेसँग १३७ रनले पराजित भएको थियो ।
नेपाल र बंगलादेशको दोस्रो भेट सन् २०१६ मा भएको यू-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो ।
सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।
भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेलअगावै ६–६ अंक भएको छ । नेपालले अब बाँकी दुवै खेल जित्दा पनि ४ अंक मात्रै हुन्छ ।