काठमाडौं कार्तिक २९
आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्ड भारतसँग ७० रनले स्तब्ध भएको छ । बुधबार वानखेडेमा भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस अय्यरको शतकको सहयोगमा चार विकेट गुमाएर पूरा ५० ओभर खेलेर ३९७ रन बनाएको थियो ।
भारतका लागि कोहलीले ९ चौका र दुई छक्काको सहयोगमा ११३ बलमा ११७ रन बनाए । अय्यरले चार चौका र आठ छक्का हानेर १०५ रन बनाए । यसैगरी शुब्मन गिलले ८० रन, कप्तान रोहित शर्माले ४७ रन, केएल राउलले ३९ रन र सूर्यकुमार यादवले एक रन बनाए ।
बलिङतर्फ न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए ।
न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक ११९ बलमा १३४ रन बनाए । केन विलियसनले ६९ रन बनाउँदा ग्लेन फिलिप्सले ४४ रन, डेवन कोनवे र रचिन रविन्द्रले समान १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।