काठमाडाैं, साउन १९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नभएकोप्रति असन्तुष्टि जनाएका छन् ।
शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले प्रहरीले महरासँग सामान्य सोधपुछ गर्ने आँटसमेत नदेखाएको बताए । यस विषयमा मिडिया ट्रायल मात्र गरिएको उनको टिप्पणी छ ।
‘उहाँ निर्दोष हो भने उहाँलाई पनि त आफू निर्दोष हुँ भन्ने ग्राउन्ड अनुसन्धानले नै देला । मोबाइल उहाँको होइन भन्दिएपछि यदि त्यो मोबाइल उहाँको हो रहेछ भने त त्यो मोबाइलमा भएका कुराकानीको स्वामित्व त फोन जसको हो उसले त लिनुपर्ला नि ?’ लामिछानेले भने, ‘अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो । प्रहरीले मिडिया ट्रायल गरिदिएको छ । सामान्य सोधपुछ समेत गर्न सक्ने आँट देखिँदैन । उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि, जो माथि आरोप लागेको छ ।’
सभापति लामिछानेले ललितानिवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि छानबिन गर्नुपर्ने बताए ।
उनले कर्मचारीलाई छानबिन गरिएको तर, मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरूलाई छानबिन नगरिएको भन्दै पूर्व प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।
उनले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने बताए ।










