दाङ,साउन
दाङको देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् ।
सोमवारदेखि लगातार परेको बर्षाले गर्दा देउखुरीका विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।
दाङको राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए ।
लमही नगरपालिका–१ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरबाट सरसामान र मानिसको उद्धार गरिएको छ ।
लमही–१ सुनडबरी निवासी ७० वर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका २ जनालाई उद्धार गरिएको छ । लमही–३ कान्तिपुरका रामबहादुर कुमालको घरमा पानी पसेपछि छतमा रहेकाको उद्धार गरिएको छ भने सोही ठाउँका सुशील कुमाल र दयाराम चौधरी घर डुबानमा परेका छन् । कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिसलाई स्थानन्तरण गरिएको थियो ।
राजपुर गाउँपालिका–२ निवासी ३० वर्षीया पुष्पा नेपालीको घर भत्किएको छ । उनलाई नजिकै ग्वाते कुमालको घरमा सारिएको छ । निरन्तरको वर्षाका कारण कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको छ । हुलाकी सडक अन्तर्गतको सडक बिहानदेखि अवरुद्ध भएको हो ।
बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलाले बा११च ९५११ नम्बरको स्कारपिओ बगाएको छ । घोराहीतर्फ जाँदै गरेको स्कारपिओ मंगलवार बिहान बगाएको प्रहरीले जनाएको छ ।
सवारी चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।










