२९ असार, काठमाडौं ।
रोपाइँको सिजन मानिने असारमा गत वर्षको भन्दा कम रोपाइँ भएको छ ।
चालु वर्षको असार २९ गतेसम्म कुल क्षेत्रफलको ५३ प्रतिशत भूभागमा रोपाइँ भएको छ । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो ।
देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टरमा रोपाइँ हुन्छ । यो वर्षको असार २९ गते (शुक्रबार)सम्म सात लाख १८ हजार ४७६ हेक्टर जमिनमा रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ ।
कर्णाली प्रदेशमा ७० प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ हुँदा गण्डकी प्रदेशमा ४७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
देशैभर मनसुन उपयुक्त भएको र रोपाइँ जारी रहेका कारण यस वर्ष धान खेती हुने सबै क्षेत्रमा रोपाइँ हुने अनुमान मन्त्रालयको छ । रोपाइँ ढिलाइ हुनुमा मनसुन केही दिन ढिला सुरु हुनु नै प्रमुख कारण भएको मन्त्रालयले जनाएको छ ।










