काठमाडौँ, २८ असार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छिन् ।
बिहीवार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याएर मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताइन् । कानून निर्माण गरेर सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने उनको भनाइ थियो ।
उनले विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने पनि जानकारी दिइन् ।
त्यस्तै साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको उनको भनाइ थियो । ‘सधैं नीति र कानून तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । आम सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि विद्यमान ऐन, कानूनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्नुपर्ने देखिएको छ । मन्त्रालयसँग सम्बन्धित कानूनहरूको तर्जुमा, संशोधन एवं परिमार्जन गर्न मन्त्रालय योजनाबद्ध रुपमा लागिरहेको कुरा जानकारी गराउन चाहन्छु’ उनले भनिन्, ‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतीको रुपमा रहेको छ । डिजिटल साक्षरता प्रवर्द्धन गर्ने, र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको छ । सामाजिक सञ्जालको विषयमा गम्भीरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने ब्यहोरा अवगत गराउन चाहन्छु ।’
विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतिय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने उनले बताइन् । साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी अन्तिम चरणमा पनि उनले जानकारी दिइन् ।
मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ.एम. रेडियो, ७ हजार ९७९ पत्रपत्रिका र ३ हजार ९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिइन् ।










