काठमाडाैं असार २७,
मौसम पूर्वानुमान महाशाखाले आज बुधवार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने जनाएको छ ।
बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।










