काठमाडौँ, १३ असार
नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने दाबी गरेको छ ।
बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलनगरी नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानूनका आधारमा मुद्दा दायर हुने बताएको हो । पुरानो कानूनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको भनाइ छ ।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने बताइन् ।
उनले प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानून आकर्षित नहुने बताउँदै मुद्दा दर्ता नहुने भन्ने प्रश्न नै नआउने बताइन् ।
यो मुद्दा दर्ता नगर्ने प्रश्न नै आउँदैन, हामीले धेरै नै मेहनत गरेर प्रमाण जुटाएका छौँ । मुद्दा दर्ता हुन्छ, अघि बढ्छ, हद म्यादमा पनि दुविधा हुने छैन,’ उनले भनिन्, ‘यस्तोमा सानो चलखेल रहन्छ । उनीहरूलाई जवाफ दिने यथेष्ट प्रमाण छन् ।’









