बुटवल असार १२,
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बिचैपुरमा सोमवार छोराले आमाको हत्या गरेको खुलेको छ ।
२५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउँकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक (डीएसपी) भोजराज पाण्डेले बताए ।
आमाको हत्या गरेर उनी फरार भएका थिए ।
उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ ।
काम गरेर साँझ घर फर्केका मृतकका श्रीमान्ले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए ।
अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रुपमा कुटपिट गर्ने गरेका थिए ।
कुटपिट सहन नसकेपछि अभियुक्तकी श्रीमती दुई महिना अघिबाट माइतमा गएर बसेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।
हत्यापछि फरार रहेका अभियुक्तलाई रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । झट्ट हेर्दा उनी सन्की स्वभावका देखिए पनि के कति कारणले आमाको हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









