काठमाडौं असार ०४,
नेपाल चलचित्र संघले काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । आज बसेको संघको बैठकले मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका हुन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर बालेन शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जान लागेका हुन् ।
“संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न मिल्छ कि मिल्दैन ?, संघको अधिकार क्षेत्रभित्रको कुरा हो अथवा स्थानीय तहको अधिकार हो अब अदालतले स्पष्ट पार्नेछ,” सिनेमा हल व्यवसायी तथा वितरक गोपालकाजी कायस्थले भने ।
फेसबुक स्टाटसका आधारमा सिनेमा प्रदर्शन रोकिने अवस्था आएको भन्दै अधिकार क्षेत्र स्पष्ट हुन आवश्यक रहेको उनले बताए । कानुन व्यवसायीहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।