काठमाडाैं बैशाख १५,
प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले केहीबेर अगाडि शपथ गराएका हुन् ।
वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट रास्वपाबाट स्वर्णिम वाग्ले, चितवन २ बाट रास्वपाकै रवि लामिछाने र बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी भएका थिए । जसपाका यादवको भने शपथ हुन बाँकी छ ।
तनहुँ १ मा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन भएको हो ।
मंसिर ४ गते चितवन २ बाट जितेका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि उपनिर्वाचन भएको हो । एकपटक सांसद पद गए पनि लामिछाने उपनिर्वाचनमा झन् ठूलो मतान्तरले जित्न पुगेका हुन् ।
कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थशास्त्री वाग्लेले पनि फराकिलो मतान्तरले जितेका थिए । मंसिर ४ गते सप्तरी २ मा जनमत पार्टीका सीके राउतसँग पराजित भए पनि उपनिर्वाचनमा यादव बारा २ बाट विजयी बनेका हुन् ।










