काठमाडाैं बैशाख ९,
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएको पार्टी एकता जोगाउन नसकिएपनि फेरि नयाँ एकताका लागि प्रयास नछाड्ने बताएका छन् । कम्युनिस्ट आन्दोलनलाई फेरि मोर्चाबन्दी गर्नेमा लागिरहेको र केही समयमा नतिजा आउने उनले बताए ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकपटक असफल हुँदैमा कम्युनिस्ट आन्दोलनको एकताको प्रयास नरोकिने बताएका हुन् ।
‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सही विचारका आधारमा एकताबद्ध गर्ने प्रयास गरेको हो, एक हदसम्म सफल पनि भएको हो । एकता र धु्रवीकरणलाई जनताले अनुमोदन गरेको हो । तर बचाउन सकेनौं । त्यस्तै परिस्थिसित सिर्जना भयो’ प्रचण्डले भने, ‘फेरि अगाडि बढ्न छाड्ने भन्ने हुँदैन । ६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । कम्युनिस्ट आन्दोलन रोकिएन, बढिनैराख्यो । अघिल्लो निर्वाचनमा सबभन्दा ठूलो आन्दोलन बन्यो ।’
कम्युनिस्ट आन्दोलन जनतामा लोकप्रिय रहेकोले फेरि एकताको उद्देश्य छाड्न नहुने बताए ।
‘हिजो के त्रुटिका कारण या विचार, नेतृत्व र कार्यशैलीलाई समीक्षा गरेर आगामी दिनमा एकताको प्रयास गर्नुपर्छ । मोर्चा बनाएर छलफल गर्दै जाने र वामपन्थी आन्दोलननाई एकजुट बनाउने अभियानमा लागिरहेका छौं । सकारात्मक परिणाम आउँदैछ’ प्रचण्डले भने ।
अहिले कम्युनिस्ट मात्र नभइ देशका राजनीतिक दलको विचारमा विचलन देखापरेको उनले बताए ।
‘कम्युनिस्ट आन्दोलनमा मात्र नभइ राजनीतिमा विचार, सिद्धान्त मूल्यबाट विचलनमा जालाकि भन्ने चिन्ता छ, गत चुनावलाई हेर्दा विचार, सिद्धान्त, मूल्य मान्यता बोकेको दल र उम्मेदवार भन्दा मान्छे सेन्टिमेन्ट, आवेग र अराजकतलाई पश्रय दिएको देखियो, यसविरुद्ध बुद्धिजीविबाट वैचारिक बहस जरुरी छ’ प्रचण्डले भने ।










