काठमाडाैं बैशाख ४,
राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएकाे स्वास्थ्य समस्या अझै निकाे नभएपछि फेरि अस्पताल पुगेका छन् । १८ चैत अघि होलबडी चेक अप गराएका पौडेल त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
कोखा दुखेको र संक्रमण जस्तो देखिएका उनलाई एन्टिबायोटिक दिइएको थियो । यसको डोज पूरा भएपछि उनी फलोअपका लागि सोमबार फेरि अस्पताल पुगेका हुन् ।
पेटकाे दुख्ने क्रम फेरि पनि बेलबेलामा बल्झिएपछि राष्ट्रपति अस्पताल पुगेका हुन् ।
‘१८ चैत अघि होलबडी चेक गर्दा उहाँको पेटमा समस्या देखिएको थियो । कोखामा दुखेपछि संक्रमण जस्तो देखेर हामीले एन्टिबायोटिकको डोज दिएका थियौं’ पौडेलका निजी चिकित्सक डा. निरज बमले लोकान्तरसँग भने, ‘एन्टिबायोटिकको डोज पूरा भएपछि सोमबार फलोअपमा आउनुभएको थियो । परीक्षण गराएर फर्किनुभयो ।’ फोक्सोको बाहिरी भागमा जमेको पानी निकालेर परीक्षण गरिएको जानकारी बमले दिए । तर पौडेललाई कुनै गम्भीर समस्या नदेखिएको जानकारी उनले दिए ।
फोक्सोको बाहिरी भागमा पानी जमेपछि निमोनियाको आशंका गरिएको बुझिएको छ ।
सचिवालयले पनि राष्ट्रपति पूर्ण स्वस्थ नभएकाे जानकारी दियाे ।
पौडेल १८ चैतमा शिक्षण अस्पतालमा भर्ना भएर २२ चैतमा डिस्चार्ज भएका थिए ।
यसपछि उनी प्रत्येक साता फलोअपमा गइरहेका छन् ।










