काठमाडौं फागुन २९
काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यका लगायतका भू–भागमा वर्षा भइरहेको हो ।
“केही समय अगाडिबाट काठमाडौं उपत्यकामा मेघगर्जन र चट्याङसहित वर्षा सुरु भएको छ” मौसमविद् गोविन्दकुमार झाले भने, “विशेषगरी काठमाडौंका दक्षिणपश्चिम भू–भागमा अबको केही समयसम्म वर्षा हुनेछ ।” वर्षा लामो समय भने नरहने उनको भनाइ छ ।
उनका अनुसार गण्डकी प्रदेशका कास्की, स्याङ्जा पर्वत, म्याग्दी, बागलुङलगायत जिल्लामा केही समयदेखि वर्षा भइरहेको छ । “गण्डकी प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ । मेघगर्जन र चट्याङसहित वर्षा भइरहे पनि यो लामो समय भने रहँदैन,” मौसमविद् झा भन्छन्, “अहिलेको मौसमको विशेषताअनुसार नै क्षणिक वर्षा हुनेछ ।”
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।















