जलेश्वर (महोत्तरी), मंसिर १६
जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आउनुभएको हो ।
अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०/१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउनुहुन्छ ।
फूलखेतीमा उहाँलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गर्नुभएको छ । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताउनुभयो । उहाँका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । “एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ”, उहाँले भन्नुभयो ।
उहाँले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाउनुभएको छ । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताउनुभयो । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उहाँको भनाइ छ ।
“एउटा सयपत्री फूल उनेको मालाको रु ५० देखि रु ७० पर्छ । घरमा आएका व्यापारीलाई रु ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको छ”, लालबाबुका छोरा विकासले भन्नुभयो । थोकमा प्रतिकिलो रु चारदेखि रु ५०० सम्ममा बिक्री गर्दा दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।
लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गर्नुभएको छ । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । रासस









