चितवन, मंसिर ०१
चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव भोलि (मंगलबार) सकिदैछ । कार्तिक १८ गतेबाट सुरु भएको महोत्सवको भोलि समापन हुने भएको हो ।
महोत्सवको समापन समारोह बिहान ११ बजे सुरु हुनेछ । चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार महोत्सवको भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले समापन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच महोत्सवको समापन समारोहपछि भोलि बिशेष साँस्कृतिक कार्यक्रम हुनेछ । जसमा सविन राई एण्ड दि फेरोह ब्याण्डको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा सबै खेलकुद प्रतियोगिताहरु आज (सोमबार) नै सम्पन्न भएको छ । महोत्सवकै दौरान ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठसहित कीर्तिमानी पदक विजेता कराँतेकी एरिका गुरुङ सम्मानित भएका थिए । उनीहरुलाई जनही ५०-५० हजार रुपैयाँले सम्मान गरिएको थियो ।
महोत्सवमा तीन सय भन्दा बढी स्टल रहेका छन् । दर्शकहरुका लागि बनाईएको लन्डन ब्रिजले सबैलाई आकर्षित गरेको छ । दर्शकहरुले लन्डन ब्रिज चढेर महोत्सव परिसर भित्रै बुर्ज खलिफा, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाएका छन् ।
—














