काठमाडौँ, ११ असोजः
ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १४९ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको योगफल बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन र कप्तान अकिल होसेनले एक विकेट लिए । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप बिजेता वेष्ट इन्डिजविरुद्ध खेल्न लागेको हो ।
अर्को सातादेखि ओमानमा हुने आइसिसी टी-ट्वान्टी एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्टइन्डिजसँग टी-२० अन्तरराष्ट्रिय खेलको ‘सिरिज’ खेल्न लागेको हो ।