काठमाडौँ, पुस ६ –
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।
लिग चरण र प्लेअफमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । सुदूरपश्चिमले जनकपुरविरुद्ध लिग चरणमा ७२ रनको र पहिलो क्वालिफायरमा आठ विकेटको जित निकालेको थियो ।