पोखरा, २० कात्तिक
सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई २५ दिन हिरासतमा राख्न सरकारी वकिलले माग गरेका छन् ।
कास्की जिल्ला अदालत पोखरामा मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा सरकारी वकिलले बिदासहित २५ दिन म्याद थप गर्न प्रस्ताव गरेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट कमला काफ्लेले बहस गरेकी थिइन् । लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
जाहेरीवालाको तर्फबाट बहस गर्दै युवराज पराजुलीले सहकारी ठगीको संगठित अपराधबाहेक लामिछाने अरू अपराधमा समेत संलग्न देखिन सक्ने भएकाले म्याद थप गर्नुपर्ने बताएका थिए ।
यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो ।
लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले १८ दिन हिरासतमा राख्दा पनि अनुसन्धान नसक्नु बदनियत रहेको दाबी गरे । उनले म्याद थप गर्नु आवश्यक नभएको बताए ।
जिल्ला अदालतमा बहस सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।






