चितवन, कार्तिक १४ –
साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो ।
बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन । बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्दा नेपाल भने छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।
पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । सुरुवाती १० मिनेटमा दुवै टोलीको प्रहार क्रसबारमा पनि लागेको थियो । दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता लियो । तर नेपालले ५ मिनेट पछि नै खेल बराबरीमा ल्यायो ।