काठमाडौं, १५ असोज
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेटका छन् । सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन गर्नुका साथै अध्यक्ष प्रचण्डले त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाए ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उनले उल्लेख गरे ।
उनले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।






