काठमाडाैं चैत १९,
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको दल नेकपा (माओवादी केन्द्र)का सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा शुक्रवार दर्ता गराएका थिए ।
नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा बिहीवार मन्त्रिपरिषद् पुनर्गठन भएको थियो ।
नयाँ समीकरणअनुसार नेकपा (एमाले), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँगै सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टी (हानेपा)को प्रवेश भएको छ ।
हानेपाको साथ रहेमा बागमतीमा सत्ता गठबन्धन जोगिने अङ्कगणित थियो । हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा शहरी विकासमन्त्री बनेका छन् ।
यस्तै लक्ष्मण लम्साल श्रम, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी, युवराज दुलाल भौतिक पूर्वाधार, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला र कुमारी मोक्तान सामाजिक विकासमन्त्री रहेका छन् ।
अन्य बाँकी ५ मन्त्रालय भने हाललाई मुख्यमन्त्री आफैँले राखेका छन् । ती मन्त्रालय एमालेलगायतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।