चितवन, १३ चैत
चितवनको इच्छाकामना गाउँपालिका –१ हात्तीवाङमा एकै घरका चारजना चट्याङ लागेर घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङ, ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय मनिषा चेपाङ र १२ वर्षीय रामबहादुर चेपाङ रहेका छन् ।
सोमवार राति ११ बजेको समयमा चट्याङ परेको प्रहरीले जनाएको छ। चट्याङबाट एक कोठे कच्ची घरमा पनि क्षति भएको छ ।
सानुमाया र मनिषा सामान्य घाइते भएको र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको छ । उनको अहिले आधारभुत स्वास्थ्य केन्द्र कुरिनटारमा उपचार भइरहेको भण्डारीले बताए ।