– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष ०६ –
भरतपुर भ्रमण वर्ष २०२४ तत्काल उद्घाटन नहुने भएको छ । भरतपुर महानगरपालिकामा आज बसेको कार्यपालिका बैठकले तत्काल उद्घाटन नगर्ने निर्णय गरेको हो ।
डिसेम्बर ३१ अर्थात पुष १५ मा भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्ने गरी महानगरपालिकाले तयारी थालेको थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कार्यपालिका बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सडकको अवस्थाले गर्दा कार्यक्रम रोकिएको बताए ।
भरतपुर महानगरपालिका अगाडि नै रहेको पुल्चोक गोन्द«ाङ्ग सिक्स लेन सडक विस्तारको काममा ढिलाई हुँदा अहिले सडक विजोक अवस्थामा छ । तत्काल उद्घाटन रोक्नुमा यही सडक मुख्य कारण रहेको उनको भनाइ छ ।
यसैगरी मुग्लिन सडक पुष ७ गतेदेखि दिउँसो ४ घण्टा बन्द हुँदैछ, नारायणगढ बुटवल सडक र मुग्लिन पोखरा सडकको अवस्था पनि विजोक छ । यसै गरी केही पर्यटकीय स्थलहरुको निर्माणको चरणमा छन् । यीनै कारणले गर्दा भ्रमण वर्ष स्थगित गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत राना बताउँछन् ।
भरतपुर भ्रमण वर्ष २०२४ हतारहतार घोषणा गरी खर्च मात्र गरेको भनि अहिले महानगरको आलोचना भइरहेको छ । खर्चको विषयमा सोध्दा प्रमुख प्रशासकीय अधिकृत रानाले अहिले खर्चको विवरण आइ नसकेको बताए ।