चितवन, बैशाख २०–
सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख २२ गते बिहिबार चितवनमा आमसभा गर्ने भएको छ । आमसभा केन्द्रीय बस टर्मिनल हाकिमचोकमा विहान ११ बजेदेखि सुरु हुनेछ ।
नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगन थापालगायतले सम्बोधन गर्नेछन् । यस्तै कांग्रेसका नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट साझा उमेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट साझा उमेदवार चित्रसेन अधिकारी छन् । चितवनका सबै पालिकामा सत्तारुढ गठबन्धनले तालमेल गरेको छ ।