चितवन, १७ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हेमन्त बराललाई नियुक्त गरेका छन् ।
बेलायतबाट उच्च शिक्षा हासिल गरी विगत २५ वर्षदेखि सूचना प्रविधि (आइटी)को क्षेत्रमा काम गर्दै आएका बराललाई बुधबार सिइओमा नियुक्त गरेका हुन् ।
नेता लामिछानेले केही महिनाअघि पार्टीको सचिवालय सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यकता भनी सार्वजनिक सूचना जारी गरेका थिए । सोही आधारमा करिब चार सय जनाको आवेदन परेकोमा विभिन्न प्रकृयाबाट छनौट गरी बराललाई नियुक्ति दिएको उनले बताए ।
छनौट प्रकृया पूरा भएपछि बुधबार भरतपुरमा सचिवालयको शुभारम्भ गर्दै बराललाई सचिवालयको जिम्मेवारी सुम्पेका हुन् । पदभार ग्रहण गर्दै सिइओ बरालले आफ्नै देशमा केही गर्ने लक्ष्यसहित बेलायतमा आइटी इन्डष्ट्रिको सम्मानजनक जागिर छाडेर आएको बताएका छन् ।