काठमाडौं, १० साउन
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचार छानबिन गर्दा विपक्षी दलले विरोध गरेको आरोप लगाएका छन् ।
सरकारले भ्रष्टाचारीमाथि कारवाही शुरू गरेपछि दिउँसै रात पार्न खोजिएको पौडेलले बताए ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा माओवादी सचिव पौडेलले भ्रष्टाचार विरोधी अभियानलाई निरन्तता दिन माग गरेका हुन् । ‘यहाँ दिउँसै रात पार्न खोजिएको थियो, भ्रष्टाचार छानबिन गर्न खोज्दा माननीयज्यूहरूले टाउको दुखाउन जरुरी छैन’ पौडेलले भने । त्यसअघि नेकपा एमालेले संसदमा सुन तस्करीको विषयलाई लिएर केही मन्त्रीलाई आक्षेप लगाएको थियो ।
‘दोषीलाई कारवाही गर्न माननीयजीहरू खुसी हुनु पर्ने हो । सरकारको प्रयत्नलाई सलाम व्यक्त गर्न चाहन्छु’ पौडेलले भने । संसदमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।










