काठमाडौं,९ साउन
भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगा लिन जाने टोलीको टुंगो लागेको छ ।
पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय पशु प्रजनन् केन्द्रको कार्यालय पोखरा, प्रजनन् केन्द्र लहान र पशु क्वारेन्टिन शाखाका वरिष्ठ पशु चिकित्सकको टोली भारत जाने भएको हो ।
नेपालको तर्फबाट टोलीको सूची स्वीकृत भइसकेको र भारतले मिति तय गरेर खबर गर्नासाथ त्यसतर्फ जाने पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए ।
यी तीनवटा पशु फार्ममा राखिने
बाँकेको रुपैडिया नाकाबाट ल्याइने १५ वटा मुर्रालाई तीनवटा सरकारी पशु प्रजनन् केन्द्र (फार्म)मा राखिनेछ । लहान, पोखरा र नेपालगञ्जमा रहेका फार्ममा सुरुका केही दिन आइसोलेटेड सेड (अन्य पशुभन्दा छुट्टै गोठ) मा राखिनेछ ।
प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरूमा पु¥याइनेछ । यसबाट नेपाली भैँसीहरूको नश्ल सुधार तथा दूधको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
नेपालले सात वर्षदेखि मुर्रा भित्र्याउने प्रयास गरेको थियो
भैँसीका उन्नत १० जातमध्येको एक हो मुर्रा । यसको सबैभन्दा उत्कृष्ट गन्तब्य दक्षिणी भारत हो । नेपालले भारतसँग २०७३ सालदेखि खरिद नै गरेर ल्याउनेगरी मुर्रा राँगा माग गरिरहेको डा. ढकाल बताउँछन् ।
तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म पनि यो प्रयास सफल नभएको उनको भनाइ छ ।
नेपालमा मुर्रा जातका भैँसीहरू अहिले पनि पालिएका छन् । तर, तिनीहरू लामो समयदेखि एउटै प्रकारले प्रजनन् भइरहकेकाले नश्ल सुधारका लागि उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालले कम्तीमा २० वटा राँगा खरिद गरेरै ल्याउनेगरी दुई वर्षयता सोहीअनुसारको बजेटको अनुमान गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका क्रममा नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने सम्झौता भएको थियो ।
मुर्रा जातका राँगाभित्र्याएपश्चात नेपाली भैँसीको नश्ल सुधार तथा दूधको उत्पादकत्वमा पनि बढावा हुने विभागको अपेक्षा छ । नेपालमा हाल वार्षिक रूपमा २५ लाख मेट्रिक टन दूध उत्पादन भइरहेको छ । त्यसमा भैँसीको दूध मात्रै करिब १६ लाख मेट्रिक टन उत्पादन हुँदै आएको विभागको तथ्यांक छ ।










