– हिरालाल आचार्य
चितवन, ०७९ बैशाख १७ –
भरतपुरको चौबिसकोठीमा पानीको ताल हुँदा यात्रु तथा व्यावसायीले सास्ती खेप्नु परेको छ ।
एकदुई दिनको वर्षातले नै चौबिसकोठीमा पानीको ताल परेको हो । नाला बिनाको सडक बन्दा भरतपुरका विभिन्न क्षेत्रमा सामान्य वर्षातमै तलाउ पर्ने गर्छन् । अस्पताल रोडमा फार्मेसी चलाइरहेको एक व्यावसायीले भने, ‘आधा घण्टा पनि ठूलो पानी परेको छैन । यस्तो ताल छ । अब चुनाव चुनाव भन्छन् नेताहरुले घरघरमा गएर भोट माग्छन् । तर यता तिर ध्यान छैन । बिरामीहरुलाई पनि मर्का परेको छ ।’ मेडिकल सिटी भनेर प्रचार गरिए पनि अस्पताल रोडमै पानी जम्ने समस्या समाधान हुन नसकेको भन्दै उनले यसको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण जानुपर्ने बताए ।
साइकलमा पानीको तलाउ तरेर आएकी एक यात्रीले भनिन्, ‘महानगरको मुख्य बजारमै त यस्तो छ । अन्य ठाउँमा कस्तो होला ? हिँड्नै गाह्रो भएको छ । यसमा सबैको ध्यान जाओस ।’
उनले थपिन्, ‘अब चुनाव आइरहेको छ । बाटोको हालत यस्तो छ । तै पनि जनताले भोट दिन छाड्दैनन् ।’
अस्पताल रोडमा फार्मेसी सञ्चालन गरेकी एक महिलाले भनिन्, ‘चौबिसकोठीमा माछा पोखरी झैं भएको छ । त्यहाँको पानी फर्किएर यहाँसम्म आएको छ ।’ ढल नुहँदा यस्तो भएको बताउँदै उनले ढल निर्माण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताइन् ।