भारत, २ साउन
अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ। भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्रीस्तरीय बैठकको क्रममा अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउबीच भेटवार्ता भएको हो।
द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले बताएका छन्।
एक अर्काको चासो र सरोकारप्रति दुवै पक्ष सम्वेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो।
मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरे।
सन् २०१९ मा चीनका राष्ट्रपतिले गरेको नेपालको भ्रमणकाक्रममा उनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकोमा कोभिड- १९ को कारणले समयमा अगाडी बढ्न नसकेको जनाउँदै अब चाँडै अगाडी बढ्ने विस्वास व्यक्त गरे।
भेटका अवसरमा मन्त्री महतले नेपाल र चीन बीचका सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विस्वास व्यक्त गरे ।
त्यस्तै टोखा– छहरे सुरूङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे। चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने बताए।










