काठमाडाैं असार २८
विदेश काम गर्न हिँडेका ११७ श्रमिक विमानस्थलबाट फेरि पनि फिर्ता भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फिर्ता गरिदिएको हो ।
अध्यागमनले भिसा शङ्कास्पद रहेको भन्दै बुधवार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीवार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थल अध्यागमनले फिर्ता गरिदिएको हो ।
यस अघि पनि २४ असारमा जोर्डन जान लागेका १५ जना श्रमिकलाई अध्यागमनले फिर्ता गरिदिएको थियो ।
४ दिन अगाडि भिसाविनै जोर्डन जान हिँडेको आंशकामा फिर्ता भएका कामदार पछि आवश्यक प्रक्रिया पूरा गरेर गएका छन् भने अहिले फेरि बुधावार साँझ र बिहीवार बिहान गरी ११७ जनाको डकुमेन्टमा शंका लागेकोले आवश्यक अध्ययन गरेर पठाउने गरी फिर्ता पठाएको विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले बताए ।
विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरूमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रूपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधाको संख्यामा महिला पनि छन् ।
विमानस्थल अध्यागमनका अनुसार हातमा एउटा र ब्यागेजमा अर्को भिसाको कागजात भेटिएपछि शंका लागेर अनुसन्धानपछि मात्रै जान पाउने गरी फिर्ता गरिएको छ ।










