काठमाडाैं असार २६,
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत करीब साढे २ अर्ब रुपैयाँ बराबरको सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषाको धनुषाधाम नगरपालिका–५ बस्ने ३४ वर्षीय नरेश पंजियार, सिरहाको पर्टेवा नगरपालिका–१७ बस्ने २४ वर्षीय दिनेशकुमार यादव, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बस्ने ३६ वर्षीय भुमबहादुर वली, धनुषाको मिथिला बिहारी नगरपालिका–५ बस्ने २५ वर्षीय सुनिलकुमार महरा, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बस्ने २३ वर्षीय सन्त गुलाम मुराव, सप्तरी घर भई काठमाडौंको सिनामंगल बस्ने २८ वर्षीय विनोदकुमार साह, उनकै पत्नी २५ वर्षीया सन्जुकुमारी साह, सप्तरी घर भई काठमाडौंको सिनामंगल बस्ने २७ वर्षीय देवनन्दन साह, सप्तरी घर भई भक्तपुरको ठिमी बस्ने २२ वर्षीय दुर्गाप्रसाद यादव, सर्लाही घर भई काठमाडौंको बागबजार बस्ने ५६ वर्षीय निमाई साह, सिरहा लहान नगरपालिका–४ बस्ने शिव सुन्दर राउत र सिरहा लहान नगरपालिका–४ हनुमाननगर बस्ने मोहनकुमार यादव रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको उडानद्वारा कतारबाट आइतवार बिहान आउन लागेका नरेश पन्जियार लगायतका व्यक्तिहरूमार्फत भन्सार छली गरी सुन कतारबाट नेपाल पठाउन लागेको र विनोद, सन्जु कुमारी, दुर्गा, देवनन्दन सुन रिसिभ गर्नका लागि एयरपोर्टमा आउन लागेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष तर्फको पार्किङ स्थलबाट पक्राउ गरेको जनाइएको छ ।
थप अनुसन्धानका क्रममा सन्जु कुमारीले भन्सार छली चोरीपैठारी गरी ल्याएको केही सुनहरू काठमाडौंको बागबजारस्थित निमाई साहको सुर्पना ज्वेलर्समा लगेर बिक्री गर्ने गरेको खुल्न आएपछि निमाई तथा सलंग्न शिव सुन्दर र मोहन कुमारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।










