काठमाडौँ, १५ असार
ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई थुनामा राख्नुको कारणबारे लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी नहुनु पर्ने हो भन्दै बाटोका म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षी गृह मन्त्रालयलाई शुक्रवार आदेश गरेको हो ।
‘आदेश जारी हुननपर्ने मनासिव आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणहरूसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू,’ न्यायाधीश चुडालले गरेको आदेशमा उल्लेख छ ।
ललितानिवास जग्गा अनियमितता प्रकरणमा सीआईबीले सार्वजनिक लिखत कीर्ते कसूरअन्तर्गत अनुसन्धान गर्न भन्दै गुरुङलाई पक्राउ गरेपछि उनका छोरा विद्या गुरुङले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।










