काठमाडाैं असार ११,
काठमाडौंमा इनारभित्र पसेका दुई जनाको ज्यान गएको छ । काठमाडौं महानरपालिका–११ अरनिकोमार्गमा पानी तान्ने मेसिन इनारमा खसेपछि लिनन्न गएका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५ तले घर बनाउने क्रममा पानी तान्ने मेसिन इनारमा खसेको थियो । मेसिन तान्न इनारमा गएका दुई जनाको अक्सिजन कम भएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार इनारमा पानी तान्ने मेसिन खसेपछि त्यसलाई लिन झापा बुधवारे हरियाका ३७ वर्षीय दिपेन लिम्बू डोरीको सहायताले इनारमा छिरेका थिए । अक्सिजनको अभाव भएर चिच्चाएपछि सिन्धुली तिपापाटन-५ घर भएका २२ वर्षीय जितेस गुरुङ बचाउन गएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको शव पोष्ट मार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज लग्ने तयारी भएको प्रहरीले जनाएको छ । दुवै जना अरनिको मार्गमा घर बनाउने ज्यालादारी गर्न आएका थिए ।









