काठमाडाैं असार ५,
बजेटको रातो किताबमा प्रदेशको नामको सट्टा नम्बर लेखिएको विषयले संसद् अवरुद्ध हुने स्थिति बनेको छ ।
मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
संसदमा गृहमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गराउनै लाग्दा नेकपा एमालेका सूर्य थापाले नियमापत्ति गरे ।
यसअघि संसद्ले नाम लेखेर पठाउन फिर्ता गरेको रातो किताबमा कोसी प्रदेशको ठाउँमा १ नम्बर लेखिएको भन्दै थापाले आपत्ति जनाए ।
‘मन्त्रीको नियतसँग जोडिएको विषय बन्यो । प्रदेशसभाले दुईतिहाइले पारित गरेको प्रदेशको नाम किन हटाउनु भयो ? तथाकथित ह्याङओभरले काम गरेको देखियो । यो पुस्तक अस्ति जस्तै फिर्ता पठाइयोस्,’ थापाले भने ।
उनले शहरी विकास मन्त्रालयअन्तर्गत दर्जनौं ठाउँमा लुम्बिनी प्रदेशको नाम पनि ५ नम्बर प्रदेश लेखिएको खुलाए । ती त्रुटि नसच्याइ छलफल अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले शहरी विकास मन्त्री सीता गुरुङलाई बोल्न समय दिए ।
रोस्ट्रममा उभिएर मन्त्री गुरुङले केही त्रुटि भए सच्याउन सकिने भन्दै छलफल अगाडि बढाउन आग्रह गरिन् ।
त्यसपछि सभामुखले छलफल अगाडि बढाउन एमालेसँग आग्रह गरे । तर, मन्त्रीको जवाफले असन्तुष्ट एमालेले छलफल अघि बढाउन मानेन ।
‘मन्त्रीले त्रुटि छ भनेर मात्र भन्नुभयो । यहाँ ५० ठाउँमा छ । चस्मा लगाउनुभएको छैन भने लगाउन आग्रह गर्छु । प्रदेशको नाम राखिसकिएको सन्दर्भमा नम्बर राखेर छलफल गर्नु संविधानविपरीत हुन्छ,’ थापाले भने ।
त्यसपछि सभामुख घिमिरेले बजेट पारित गर्ने कार्यतालिका रहेकाले सच्याउने शर्तमा छलफल अगाडि बढाउन आग्रह गरे । त्यसपछि एमालेकै छविलाल विश्वकर्माले नियमापत्ति गर्दै यथास्थितिमा छलफल अगाडि नबढ्ने बताए ।
त्यसपछि सत्तापक्षका तर्फबाट कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभामुखको रुलिङ नमान्ने अवस्थामा सदन अप्ठ्यारो अवस्थामा पुग्ने भन्दै बैठक चलाउन आग्रह गरे ।
‘आफूले भनेको कुरामा सभामुखले रुलिङ नगर्दासम्म बैठक चल्दैन भन्नु गलत हुन्छ । सभामुखको रुलिङ मान्नु पर्छ,’ लेखकले भने ।
लेखको भनाइप्रति आपत्ति जनाउँदै एमालेका रघुजी पन्तले सभामुखले गरेको रुलिङमा एकरूपता हुनुपर्ने बताए ।
‘यो भन्दा अगाडि नागरिक उड्यन मन्त्रालयको नाममा एउटा निर्देशन दिनुभयो, आज लुम्बिनी प्रदेशको नाम नभई नम्बरका आधारमा छलफल अगाडि बढाउँदा संस्कृति मन्त्रालयले नम्बर राखेर ल्यायो भने के गर्ने ? छलफल चलाउनु सभामुखको रुलिङविरुद्ध हुन्छ,’ पन्तले भने ।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरेका थिए ।
यो समाचार तयार पार्दासम्म बैठक बसेको छैन ।









