काठमाडाैं असार ४,
अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी सोमवार अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ ।
बाढी तथा पहिरोमा परी संखुवासभामा १, ताप्लेजुङमा ३, पाँचथरमा १ र नुवाकोटमा १ गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये ५ पुरुष र १ जना बालिका छन् ।
बाढी एवं पहिरोमा परी संखुवासभामा ३, ताप्लेजुङमा २ र पाँचथरमा १ गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी संखुवासभामा २१, ताप्लेजुङमा ३ र पाँचथरमा ५ जना गरी जम्मा २९ जना बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए ।
बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, ५ उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् ।
बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।









